|  

चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नहुने प्रधानमन्त्रीको प्रष्टोक्ति

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने प्रष्ट पारेका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आसन्न चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले बीआरआई ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको बताए । प्रधानमन्त्री ओलीले सरकारमा रहेका एमाले र कांग्रेसबीचमा भ्रमणका विषयमा विवाद छ भनेर भ्रम फिजाउनुको कुनै अर्थ नरहेको बताए । उनले चीन भ्रमणमा विशेषगरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भएको जानकारी दिए ।

अर्को छिमेकी भारतसँग पनि उस्तै मित्रवत सम्बन्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुने गरी लिन सक्नुपर्नेमा जोड दिए । उनले नेपालका कार्यकारी प्रमुखको औपचारिक भ्रमण पहिला कुन मुलुकबाट गर्ने भन्ने आवश्यकता र निर्णयका आधारमा हुने भएकाले यस्ता विषयलाई कुनै देशविरुद्ध ‘कार्ड’ का रूपमा कसैले लिन नहुने आग्रह गरे । प्रधानमन्त्री ओली १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाँदै छन् । भ्रमणमा जानुअघि प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग सुझाव लिएका हुन ।