|  

वृहत्तर जनकपुरका पूर्वनिर्देशकसहित ४ कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

११ मंसिर, काठमाडौं । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वनिर्देशक बलराम ठाकुरसहित चार कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

परिषद्का पूर्वनिर्देशक ठाकुर, लेखापाल सावित्री गिरी, प्रशासन प्रमुख जितेन्द्र कुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरीविरुद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । सरकारी छाप र हस्ताक्षर कीर्ते मुद्दामा उनीहरूविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको धनुषाका प्रहरीले जनाएको छ । गाडी भाडावापत परिषद्का पूर्वनिर्देशक ठाकुरले कर्मचारीहरूकै मिलोमतोमा २०७६ असार ३१ मा किर्ते सम्झौता पत्र र कार्यदेश तयार गरी ३० लाख रूपैयाँ मुकेश यादवको नाममा निकासा गरेका थिए । आफ्नो नाममा रकम निकासा भएकोबारे उनी अनविज्ञ थिए । महिनौंपछि थाहा पाएपछि उनले जिल्ला प्रहरी कार्यालयमा परिषद्का पूर्वनिर्देशक ठाकुरसहित चार कर्मचारीमाथि ठगी सम्बन्धी उजुरी दिएका थिए । उनले रकम निकासा लिन तयार पारेको नक्कली गोश्वारा भौचर, आफ्नो नामको ३६४२४९४१ नम्बरको चेक, पेश्की फछ्र्योटको निवेदनपत्र सहितका कागजातमा कर्मचारीहरुले गरेको कीर्ते दस्तखत प्रमाणको रूपमा उजुरीमा पेश गरेका छन् ।

परिषद्का पूर्वनिर्देशकले यादवको नाममा रहेको बा. १६ च.६४७ नम्बरको जीप गाडी भाडामा लिएको भन्दै नक्कली कागजात तयार पारेर रकम निकासा गरेका छन् । तर यादवले उक्त नम्बरको गाडी आफ्नो नभएको बताएका छन ।