११ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा कृषि विकास रणनीति परिमार्जनबारे छलफल भएको छ ।
आज काठमाडौँमा भएको कार्यक्रममा किसानमैत्री, पर्यावरणमैत्री, बाँझो खेतको सदुपयोग, दिगोकृषि लगायत विषयलाई कृषि विकास रणनीतिमा समावेश हुने गरी छलफल भएको हो । खाद्यका लागि कृषि अभियानका कृषि विज्ञ डा.कृष्ण प्रसाद पौडेलले रणनीतिको मुख्य उद्देश्य उत्पादनको अवधारण नै गलत भएको बताउँदै त्यसै अवधारणा आधारित कृषि विकास रणनीति यसको निर्माणसँगै असफल भएको बताए । कृषि विकास रणनीतिसँगै विकसित राष्ट्रिय किसान आयोगको निर्माण प्रक्रियामाथि उनले प्रश्न उठाए ।
छलफलमा उठेका प्रतिक्रियालाई सम्बोधन गर्दै परिमार्जन समितिका संयोजक गणेशराज जोशीले कृषि क्षेत्रको रणनीति विकास गर्ने कुरा चुनौतीपूर्ण रहेको बताए । कृषि उत्पादनका तुलनात्मक लाभका क्षेत्रहरूलाई रणनीतिमा विशेष ध्यान दिइएको बताए ।