११ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सर्वोत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिइने भएको छ ।
ओमोडा एन्ड जेइकोले एनपीएलको पहिलो संस्करणमा सहप्रायोजकको रूपमा साझेदारीसमेत गरेको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा आज सो सम्बन्धी सम्झौता गरिएको हो । सम्झौतापत्रमा ब्रान्ड डिजिटल लजिक प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरे । एसपीजी अटोमोबाइल्स, ओमोडा एन्ड जेइको अटोमोबाइल्सको नेपालको आधिकारिक विक्रेता हो ।
कार्यक्रममा क्यानका सचिव पारस खड्काले एनपीएलको फाइनलको दिन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले गाडी पाउने जानकारी दिए । अहिलेका लागि एक वर्षका लागि सम्झौता गरेपनि आगामी दिनमा पनि यसले निरन्तरता पाउने उनले बताए । कुन कम्पनीको कति मूल्यको गाडी पाउने भन्ने बारेमा भने खुलाइएको छैन । एनपीएलको पहिलो संस्करणमा ८ टीमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ ।