११ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध दायर अदालतको अवहेलनासम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालतले प्रमाण पेश गर्न आदेश दिएको छ ।
मंगलबार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले फाइल र अन्य विवरण पेश गर्न आदेश दिएको हो ।
रास्वपाका सभापति रवि लामिछाने पक्राउ भएपछि रास्वपाका केन्द्रिय पदाधिकारी एवं सांसदहरुले पोखरामा प्रदर्शन गरेका थिए ।
प्रहरीले पक्राउ गरेको र अदालतको अनुमतिमा म्याद थप भइसकेको व्यक्तिलाई रिहा गराउन दवाव स्वरुप सडक आन्दोलन गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
यो मुद्दामा रास्वपाका पदाधिकारी र २० सांसदलाई विपक्षी बनाइएको छ ।
निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले आन्दोलन गर्ने, अभिव्यक्ति दिने, र भिडलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजिएको भन्दै आरोप लगाइएको छ । अदालतको न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिकाबारे तथ्यहीन र आधारहीन भ्रम फैलाउने कार्य गरी न्यायपालिकाको गरिमामाथि क्षति पुर्याउने काम पनि भइरहेको निवेदनमा उल्लेख छ ।