१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मा नेकपा एमालेसँग समान धारणा रहेको जिकिर गरेका छन् ।
बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
‘हामीलाई अहिले विकासका लागि स्रोत र साधनले पुग्दैन । ठूलो पुँजी चाहिएको छ । मित्र राष्ट्रले अनुदान दिओस् र बहुपक्षीय दातृ निकायबाट सस्तो ऋण लिन चाहन्छौं,’ उनले भने, ‘अमेरिका, चीन, भारत, जापान जस्ता देशबाट अनुदानको अपेक्षा गर्छौं । यो पटक चीन भ्रमणमा पनि हाम्रो अपेक्षा त्यही रहन्छ । नेकपा एमालेको धारणा पनि यो भन्दा फरक छैन ।’
यसका साथै महामन्त्री थापाले चीनसँग यसअघि भएका दर्जनौं समझदारीहरूमा हस्ताक्षर र कार्यान्वयनको अपेक्षा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणबाट राखेको बताए ।