१२ मंसिर, काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी भएपनि कहिले ल्याउने भन्नेमा अन्यौलता देखिएको छ ।
बयानका निम्ति उनलाई काठमाडौं ल्याइने हल्लाले हिजो ठूलै रुप लियो । रास्वपाका काठमाडौंस्थित कार्यकर्ता न्यायको माग गर्दै सडकमै ओर्लिए । तर, रविलाई टिकट नपाएको भन्दै पोखरा नै राखिएको छ । काठमाडौंका एसएसपी वसन्त रजौरे बिदामा बसेको कारण पनि रविलाई राजधानी ल्याउन विलम्व भएको भनिएको छ । रजौरे आमा बिरामी भएको भन्दै छुट्टीमा बसेपछि रविको काठमाडौं यात्रा अनिश्चित बनेको हो । रजौरेले आफ्नो अनुपस्थितिमा काम गर्न नवराज अधिकारीलाई जिम्मा दिएका छन । तर सहकारी ठगी जस्तो गम्भीर विषयमा रजौरे बिना रविको बयान लिन अधिकारीले नचाहेको भनिएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा रविसहित १० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । काठमाडौंको सहकारी ठगीको केस काठमाडौं प्रहरी प्रमुखको कमाण्डमा रहेर छानबिन हुने हुँदा काठमाडौंले पठाउनु नभनेसम्म रवि कास्कीमा नै रहने सम्भावना छ । काठमाडौँमा रास्वपाले विरोध प्रदर्शन गर्ने विश्लेषण गरेर पनि उनलाई ल्याउन ढिला गरिएको अनुसन्धान अधिकृतहरूको भनाई छ । कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा रहेका रविलाई पछिल्लो पटक थप १५ दिन हिरासतमा राख्न म्याद थप भएको छ । अहिलेसम्म कास्की र रुपन्देहीमा रविको बयान भएको छ । उनलाई छिट्टै काठमाडौँ ल्याएर बयान लिइने छ । त्यसपछि चितवनले पनि पुर्जी जारी गरिसकेकाले चितवनसमेत बयानका लागि पुग्नुपर्नेछ । पर्साले अझै पक्राउ पुर्जी जारी नगरेको भए पनि छिट्टै जारी गर्ने तयारी भएको बताइएको छ । रविमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको साहारा र वीरगञ्जको सानो पाइला सहकारीको रकम हिनामिना भएको सन्दर्भमा अनुसन्धान भइरहेको छ ।