१२ मंसिर, काठमाडौं । काठमाडौं वेस्ट मेनेजमेन्टले काठमाडौंको दरबारमार्गमा नेकपा एमालेले जागरणसभा गर्दा भएको फोहोर सफा नगरेको बताएको छ ।
एमालेले सभा गर्दा दरबारमार्गमा भएको फोहोर आफ्ना स्वयंसेवकले संकलन गरेको दाबी गरिरहेका बेला वेस्ट मेनेजमेन्टले त्यसको खण्डन गर्दै फोहोर व्यवस्थापन आफूले गरेको बताएको हो । पानीका बोतल, एमालेका झण्डा, बदामका बोक्रा, चटपटे पोको पार्न प्रयोग भएका कागज, प्लास्टिक, खानेकुराका अवशेष, चुरोटका ठुट्टा, बिरुवाका हाँगा, पूर्वराजा महेन्द्रको सालिकमा रक्सीका बोतल र बियरका क्यान आफूले संकलन गरेको वेस्ट मेनेजमेन्टले बताएको छ ।
दरबारमार्ग क्षेत्रबाट ६.७५ टन क्षमताका दुई ट्रक फोहोर संकलन गरिएको कम्पनीका सञ्चालक तथा प्रबन्ध निर्देशक मित्र घिमिरेले जानकारी दिए । तर, एमालेले भने आफूले फोहोर संकलन गरेको दाबी गर्दै महानगरको जरिबाना पत्र बुझ्न अस्वीकार गरिरहेको छ । महानगरले एमाले केन्द्रीय कार्यालयलमा गएर पत्र बुझाउन खोज्दा केन्द्रीय कार्यालयले आफूहरू कार्याक्रमको आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको छ ।
एमालेले पत्र बुझ्न अस्वीकार गरेपछि महानगरले जरिबाना पत्र इमेल र हुलाकमार्फत पठाएको छ । तर, एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव भिष्म अधिकारीले महानगरले हुलाक र इमेलमार्फत पठाएको पत्र प्राप्त नभएको बताएका छन ।