१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्नेमा जोड दिएका छन् ।
छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरु जारी रहेको बताएका हुन् । उनले समानता र समावेशी नीति अपनाएर धनी र गरिबबीचको खाडल मेटिनुपर्ने, आत्मसम्मानसहितको मानव अधिकार, स्वस्थ्य र आशासहिको विश्व निर्माणमा सबै एक हुनुपर्नेमा जोड दिए । उनले पृथ्वी र मानवको रक्षार्थ लाग्दै मानवीय विकास, असल जीवनयापनका समस्या र समाधानका उपायका लागि यस्ता विषयमा हुने सम्मेलनले गहन सुझाव दिने अपेक्षा गरे ।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका मुद्दालाई सामना गर्न विश्वव्यापी साझेदारीलाई महत्वका साथ बढाउनुपर्ने भन्दै दिगो विकास, सुशासन र सामूहिक प्रयास अत्यावश्यक भएको बताए । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकाङ्क्षाहरुलाई देखिने खालका उपलब्धिमा रुपान्तरित गर्नुपर्नेमा जोड दिएका छन् ।