१२ मंसिर, काठमाडौं । कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ ।
जिल्ला स्तरीय समितिले एक भव्य कार्यक्रम आयोजना गरि साक्षर जिल्ला घोषणा गरेको हो । जुम्लाको टुडिखेलमा आयोजना गरिएको साक्षर जिल्ला घोषणा कार्यक्रममा प्रदेश सभा सांसद देवेन्द्र बहादुर शाहीले व्यानर उद्घाटन गर्दै जुम्ला साक्षर जिल्ला घोषणा गरेका छन् । राष्ट्रिय साक्षरता मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत माथी साक्षरता पुगेमा साक्षर जिल्ला घोषणा गर्न सकिने आधार बमोजिम जुम्ला जिल्लाको १५ देखि ६० उमेर समूहका ७२ हजार तीन सय १९ जनसङ्ख्यामध्ये ६९ हजार ४ सय ७७ अर्थात ९६.०७ प्रतिशतले साक्षर भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख तथा साक्षरता अभियान जिल्ला संयोजक गौरीनन्द आचार्यका अनुसार जिल्लाका आठ वटै स्थानीय तहमा हिमा गाउँपालिकामा ९५.७२ प्रतिशत, चन्दननाथ नगरपालिकामा ९८.१९ प्रतिशत, कनकासुन्दरी गाउँपालिकामा ९७।०० प्रतिशत, सिँजा गाउँपालिका ९५.५ प्रतिशत, पातारासी गाउँपालिका ९५.२४ प्रतिशत, तातोपानी गाउँपालिका ९५.७७ प्रतिशत, तिला गाउँपालिकालाई ९५.४ प्रतिशत र गुठिचौर गाउँपालिका ९५.७३ प्रतिशत नागरिक साक्षर भएका छन ।
स्थानीय तहले यस अघि घोषणा गरिसकेपछि जिल्ला घोषणाका लागि मापपदण्ड अनुसार साक्षर जिल्ला आवश्यक भएकाले २०८१ मंसिर ९ गते बसेको साक्षर अभियान जिल्ला समन्वय समितिले ११ गते घोषणा गर्ने निर्णय गरेको थियो । घोषणा अभियानमा कर्णाली प्रदेश सांसद देवेन्द्रबहादुर शाहीले साक्षर जिल्ला घोषणा भएकोमा सवैलाई वधाई दिएका छन् । उनले अबका दिनमा पूर्ण साक्षर जिल्ला घोषणाका लागि सवै जुट्नुपर्ने बताए । उनले जुम्ला ऐतिहासिक जिल्ला भएकाले साक्षर जिल्लाको रुपमा घोषणा हुनु हाम्रो लागि अझ अवसर भएको बताए ।