|  

दुर्गा प्रसाईबारे केहीबेरमा आदेश आउँदै

१२ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थुनामा राखिरहने कि थुनामुक्त गर्ने भन्ने विषयमा केहीबेरमा आदेश आउँदैछ ।

न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा प्रसाईँले दायर गरेको बन्दी प्रत्यीकरणको रिटमाथि सुनुवाइ भएको हो । यसअघि रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले कारण देखाउ आदेश जारी गर्दै बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको थियो । सोही आदेशअनुसार मंगलबार प्रहरीले प्रसाईलाई अदालत उपस्थित गराएको थियो । साइवर अपराधको कसुरमा पक्राउ परेपछि प्रसाईंका छोरा निराजन प्रसाईंले  गैरकानुनी रुपमा थुनामा राखेको दावी गर्दै शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए ।

प्रसाईंले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दावी  गर्दै तत्काल रिहाइको माग गर्दै अन्तरिम आदेश माग गरेका थिए । रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो र काठमाडौं जिल्ला अदालत बवरमहललाई विपक्षी बनाइएको छ । ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको र अफवाह फैलाएको आरोपमा उनलाई मंसिर ४ गते केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।