१२ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ र कीर्तिपुर नगरपालिकामा निर्वाचन अनुगमन टोली परिचालन भएका छन् ।
निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको लागि मंसिर २ गतेदेखि लागु भएको आचारसंहिताको पालना भएर/नभएकोबारे अनुगमनका लागि छुट्टाछुट्टै टोली परिचालन गरेको हो । काठमाडौं-१६ मा सहसचिव नारायणप्रसाद सापकोटाको नेतृत्वमा सशस्त्र प्रहरीका एसपी दिगविजय सुवेदी, उपसचिव सीतापुन श्रीष र एसपी सञ्जयसिंह थापा खटिएका छन् । त्यस्तै, कीर्तिपुरमा एसएसपी दीपक रेग्मीको नेतृत्वमा उपसचिव थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरीका एसपी अशोक न्यौपानेको टोली खटिएको छ ।
त्यसैगरी, आयोगले उपनिर्वाचनका लागि सबै ठाउँमा अनुगमन भइरहेको जनाएको छ । आचारसंहिताको उल्लंघन गरेमा उम्मेदवारी नै रद्द गर्न सक्ने पनि चेतावनी आयोगले दिएको छ ।