|  

अबदेखि ब्यवसायीहरुले सिधै वाणिज्य बैंकमार्फत सुन खरिद गर्न पाउने

१२ मंसिर, काठमाडौं । ब्यवसायीहरुले अब सिधै वाणिज्य बैंकमार्फत सुन खरिद गर्न सक्ने भएका छन् ।

सर्वोच्च अदालतले वाणिज्य बैंकहरुले आयात गर्ने सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन आदेश दिएसँगै व्यवसायीले सिधै वाणिज्य बैंकमार्फत सुन खरिद गर्न सक्ने भएका हुन् । सुनचाँदी व्यवसायीसँग सम्बन्धित संघ तथा महासंघले सुन वितरणका नाममा सिन्डिकेट गरेको भन्दै रिद्धिसिद्धि ज्वेलर्सकातर्फबाट व्यवसायी सागर ढुंगानाले रिट दायर गरेका थिए । न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले नेपाल राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको स्थितिमा व्यवसायीहरूलाई संगठनमा आबद्ध नभए पनि सुन खरिद गर्न नरोक्न राष्ट्र बैंकको नाममा अन्तरिम आदेश दिएको छ । वाणिज्य बैंकहरूमार्फत आयात गरिने सुन हालसम्म तीन व्यावसायिक संघहरूलाई मात्र वितरण हुँदै आएको थियो ।

संघहरूमा आबद्ध व्यवसायीले मात्र सुन खरिद गर्न पाउँदा अन्य व्यवसायी बजार पहुँचबाट वञ्चित भएका थिए । यो एक प्रकारको सिन्डिकेट प्रणाली रहेको भन्दै गैर-आबद्ध व्यवसायीले आवाज उठाएका थिए । अदालतले जारी गरेको आदेशमा सबै व्यवसायीलाई सुन खरिद गर्न समान अवसर दिनुपर्ने उल्लेख छ ।