|  

सबैको पहुँच हुने गरी मतदान केन्द्र निर्माण गर्न आयोगको निर्देशन

१२ मंसिर, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि बन्ने मतदान केन्द्र सबैको पहुँच हुने गरी निर्माण गर्न निर्देशन दिएको छ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले गर्भवती महिला, अशक्त, बिरामी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको सहज पहुँच हुने गरी मतदान केन्द्र निर्माण गर्न निर्देशन दिएको छ।

‘मतदानमा खटिएका कर्मचारीले मतदान केन्द्र निर्माण गर्दा सम्बन्धित स्थानीय तहसँगको सहयोग र समन्वयमा गर्भवती महिला, अशक्त, बिरामी, जेष्ठ नागरिक र अपांगता भएका मतदाताको गोप्य मतदान कक्षसम्म जानको लागि सहज मार्गको व्यवस्था, उपयुक्त स्थानमा गोप्य मतदान कक्ष तथा मतपेटिका राख्ने व्यवस्था, मतदान केन्द्रमा प्रवेश गर्दा र मतदान गरिसकेपछि बाहिर निस्किँदा सहज मार्गको व्यवस्था एवं सम्भव भएसम्म विश्रामस्थलको समेत व्यवस्थाका लागि निर्देशन दिइएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आयोगले मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनमा गर्भवती महिला, अशक्त, बिरामी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका मतदातालाई समेत सहजतापूर्वक मतदान केन्द्रमा गई आफ्नो अमूल्य मत प्रदान गर्न यथोचित व्यवस्थाका लागि उपनिर्वाचन हुने स्थानीय तहलाई यसअघि नै निर्देशन दिइसकेको छ।