१३ मंसिर, काठमाडौं । इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाहबीच बुधबार बिहानदेखि लागू भएको युद्धविराम सम्झौतालाई विश्वका नेताहरूले स्वागत गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायल र लेबनानबीचको युद्धविरामले इजरायललाई इरान समर्थित लडाकू समूह हिजबुल्लाहको खतराबाट जोगाउने र ‘स्थायी शान्ति’को वातावरण सिर्जना गर्ने बताएका छन । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युद्धविरामले तत्कालका लागि हिंसाको अन्त्य गरेको र यो ‘स्थायी शान्ति’मा परिणत हुने विश्वास व्यक्त गरेका छन ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति बाइडनलाई युद्धविराम सम्झौतामा सहजीकरण गरेकोमा धन्यवाद दिएका छन । इजरायली प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार ‘इजरायलले यसलाई लागू गर्न आफ्नो कार्यगत स्वतन्त्रतालाई प्रयोग गर्नेछ भन्ने अमेरिकी राष्ट्रपति बाइडनको भनाइ र बुझाइको नेतन्याहुले प्रशंसा गरेका छन् । इजरायलले सम्झौतालाई अनुमोदन गर्नुअघि नेतन्याहुले युद्धविरामको अवधि लेबनानमा के हुन्छ त्यसमा निर्भर गर्दछ र युद्धविरामले इजरायललाई हमासमाथि ‘दबाब बढाउन’ र ‘इरानी खतरा’ मा ध्यान केन्द्रित गर्न अनुमति दिने बताएका छन ।
लेबनानका प्रधानमन्त्री नजिब मिकातीले युद्धविराम यस क्षेत्रमा स्थिरता कायम गर्ने दिशामा ‘आधारभूत कदम’ भएको बताएका छन् । मिकाटीले यस युद्धबिराममा फ्रान्स र अमेरिकाको पहलकाका लागि धन्यवाद दिँदै दक्षिणमा सेनाको उपस्थिति लाई मजबुत बनाउन आफ्नो सरकार प्रतिबद्ध रहेको पनि दोहोर्याए ।
यसैबीच, हिजबुल्लाह र हमास दुवैको समर्थक इरानले युद्धविराम लागू भएपछि लेबनानमा इजरायलको ‘आक्रामकता’ अन्त्य भएको भन्दै युद्धविरामको स्वागत गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बागाईले लेबनानविरुद्ध इजरायलको आक्रामकता अन्त्य भएको खबरलाई स्वागत गर्दै लेबनान, त्यहाँको सरकार र आवश्यक प्रतिरोधका लागि इरानको दृढ समर्थन रहेको बताए । चीनले लेबनान र इजरायलको वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ ।