१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले गण्डक सम्झौता अनुसार भारतीय पक्षसँग भएका सहमति कार्यान्वयनका लागि नेपालले पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले गण्डक परियोजना सम्बन्धमा नेपाल र भारतबीच भएका समझदारी कार्यान्वयनमा नआएकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै भारतीय पक्षसँग कुरा गर्न आग्रह गरेका छन् । गण्डक परियोजनामा बढि प्रभावित जिल्लामध्ये पश्चिम नवलपरासीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीले गण्डक सम्झौता कार्यान्वयनमा जोड दिएका छन् । उनले उर्जा मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिचाई विभागलाई लिखित सुझाव दिएका हुन । नेपाल र भारतीय पक्षबीच गण्डक परियोजनाबारे नोभेम्बर अन्तिममा हुने भनिएको बैठकमा नेपालकातर्फबाट राख्नुपर्ने विषयवस्तुका बारेमा सांसद चौधरीले सरकारलाई लिखित सुझाव दिए ।
विगत वर्षहरुमा नारायणी नदीले क्षति पुर्याएका स्थानमा गण्डक सम्झौता बमोजिमको क्षतिपूर्ति दिलाउन भारतीय पक्षसँग समन्वय गर्नुपर्ने, धनेवा खोला तथा झरही खोलाको भारतीय सिमादेखि १० किलोमिटर दक्षिणतर्फ चन्दन नालामा रहेको अवरोध हटाई नेपालतर्फको भू-भागलाई डुवानमुक्त गराउनुपर्ने, गण्डक सम्झौता बमोजिम गण्डक नहरले प्रभावित क्षेत्रमा सामाजिक विकास सम्बन्धि आयोजनाहरु भारतीय पक्षबाट सञ्चालन हुनुपर्ने सुझाव चौधरीको छ । यस्तै उनले भारतीय पश्चिम नहरको नेपालतर्फको नहर किनाराको सडकको मर्मत सम्भार नियमित हुनुपर्ने, सूर्यपुरादेखि रतनगञ्जसम्मको सडक भारतीय पक्षबाट निर्माण तथा स्तरोन्नति गर्नुपर्ने, गण्डक उच्चस्तरीय स्थायी समितिले यसअघि गरेका निर्णयहरु कार्यान्वयन गर्नुपर्ने लगायका सुझाव दिए ।