|  

उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला

१३ मंसिर, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा विभिन्न समयमा हराएका २७ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले १८ मोटरसाइकल र नौ स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन । कार्यालयले हराएका मोटरसाइकल काभ्रेपलाञ्चोक, कोटेश्वर, गौशाला, नँयाबसपार्क, सोह्रखुट्टे, मालिगाँउ, मङ्गलबजार, गोकर्ण, नगरकोट, ताथली र बुद्धनगर लगायतका स्थानबाट फेला पारेको थियो । ट्राफिक प्रहरीले हालसम्म २ सय १० दुईपाङ्ग्रे सवारी साधन फेला पारेर सम्बन्धित धनिलाई बुझाइसकेको छ ।

यस्तै सवारी साधन चोरीमा संलग्न ३२ जनालाई पक्राउ गरी कारबाहीका लागि विभिन्न प्रहरी कार्यालय तथा वृत्तमा पठाइसकेको छ ।