१३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजू राणा देउवा आज चीन प्रस्थान गरेकी छिन ।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी आज मध्याह्न त्यसतर्फ प्रस्थान गरेकी हुन । डा.राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा गएकी हुन । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए ।
भ्रमणका क्रममा मन्त्री डा.राणाले चिनियाँ विदेशमन्त्री यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन । सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहरमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरूप उनी आज चीन गएकी हुन । प्रधानमन्त्री ओली मंसिर १७ गते सोमबार चीन भ्रमणमा जाँदैछन । परराष्ट्रमन्त्री डा. राणा शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।