१४ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालाचतुर्दशी पर्वको सुरक्षालाई ध्यानमा राखेर तीन दिन पशुपति क्षेत्रमा माछामासु मदिरा, नशालुपदार्थको उत्पादन, बिक्री तथा सेवनमा निषेध गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व), २०८१ लाई मध्यनजर गर्दै यही मंसिर १३ देखि १५ गतेसम्मका लागि माछामासु, मदिरा तथा नशालुपदार्थहरू उत्पादन, बेचविखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी निषेध गरिएको जानकारी दिए ।
कसैले निषेध गरिएको गतिविधि गरेको पाइएमा कारबाही गर्ने काठमाडौं प्रशासनले चेतावनी दिएको छ ।
गौशाला, मित्रपार्क सडकदेखि पूर्वपशुपति क्षेत्रको पूर्वसिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणलगायत पशुपति क्षेत्रको सबै भू-भागमा माछामासु, मदिरा तथा नशालुपदार्थहरू उत्पादन, बेचविखन, ओसारपसार, भण्डारण र सेवन गर्न पनाइने छैन ।