|  

सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका द्वेषपूर्ण र भ्रामक अभिव्यक्तिप्रति गृह मन्त्रालयको आपत्ति

१४ मंसिर, काठमाडौं । गृह मन्त्रालयले पछिल्लो समय सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्थामा नै खलल पु¥याउने किसिमले घृणाजन्य अभिव्यक्ति सार्वजनिक भइरहेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव र मर्यादामा आँच पु¥याएको जनाएको हो । जोकोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानूनी रुपमा निषेधित र दण्डनीय त्यस्ता गतिविधिलाई कानूनी दायरामा ल्याइने भन्दै मन्त्रालयले त्यस्तो कार्य नगर्न नगराउन सबैलाई अनुरोध गरेको छ । विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्तिलाई निरूत्साहित गर्न विभिन्न कानूनले त्यस्ता अभिव्यक्ति र गतिविधिलाई दण्डनीय अपराधको रुपमा व्यवस्था गरेको मन्त्रालयले स्मरण गराएको छ ।

साथै मुलुकले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन गरेको सन्दर्भमा नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको हकप्रति मन्त्रालय सदैव सचेत रही उच्च सम्मान गर्दै आएको तथा संविधानप्रदत्त मौलिक हकको कार्यान्वयन र सुनिश्चितताको लागि मन्त्रालय क्रियाशील र प्रतिबद्ध रहेको पनि विज्ञप्तिमार्फत जनाएको छ ।