|  

अमेरिकाको पेन्टागनलाई पछि पार्दै भारतमा बन्यो विश्वकै ठूलो कार्यालय भवन

 १४ मंसिर, काठमाडौं । अमेरिकाको रक्षा मन्त्रालयको कार्यालय भवनलाई पछि पार्दै भारतको गुजरातमा बनेको एउटा हिरा व्यापार केन्द्रको कार्यालय विश्वको सबैभन्दा विशाल कार्यालय भवन बनेको छ ।

गुजरातस्थित सुरत डायमण्ड बोर्सको अफिस कम्प्लेक्स ३५ एक्कड भन्दा धेरै क्षेत्रफलमा फैलिएको छ । पेन्टागनको ६६ लाख ७३ हजार ६२४ वर्गफिट भन्दा यो करिब ५५ हजार वर्गफिटले धेरै हो । हिरा कटिङ तथा व्यापारको केन्द्रको रुपमा रहेको यो १५ तले अफिस कम्प्लेक्समा ४ हजार ७ सयवटा कार्यालय तथा कार्यशाला कक्ष छन् ।

त्यसमा १३१ वटा ठूला एलिभेटर छन् जसबाट एउटै लामो करिडोरमा जोडिएका ९ वटा भवनमा आवतजावत गर्न सकिन्छ ।सुरत डायमण्ड बोर्स अन्तर्राष्ट्रिय स्तरमा हिरा तथा गहनाको व्यापारका लागि विश्वको सबैभन्दा तथा अत्याधुनिक हब बन्दैछ । विश्वका ९० प्रतिशत हिरा सुतमै कटान हुन्छन् ।

त्यसैले ती सबैलाई एउटै छातामुनि ल्याउनु नै सो भवन निर्माणको प्रमुख लक्ष्य थियो ।
यो कीर्तिमानी कार्यालय भवन बनाउन ३२ अर्ब भारु खर्च भएको थियो । यो कार्यालय परिसरमा ६५ हजार मानिस, ४ हजार ५ सय कार तथा १० हजार मोटरसाइकल अट्दछन् ।