१४ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका एकजना विश्वास पात्र पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले प्रसाईंका एकजना विश्वास पात्र नवीन प्रधानका नामले चिनाउने हरिचन्द्र फुयललाई झापाबाट पक्राउ गरेको हो । भारतमा बसेर नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा फुयललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । भारतीय अपराधिक समूह लोरेन्स बिश्नोई समूहको सदस्यसमेत रहेका उनले विभिन्न व्यापारीलाई फोन गरेर धम्क्याउने गरेको खुलेको छ ।
नेपाली व्यापारीहरूलाई तर्साउने, रकम उठाउने र आपराधिक काममा युवा परिचालन गर्ने जस्ता गतिविधिमा उनी संलग्न रहेको भेटिएको भनिएको छ । केही समयअघि बिश्वनोईको नाम लिएर धम्की दिइएको भन्दै चारजना व्यवसायीहरूले सीआईबीमा उजुरी दिएका थिए । नेपाली व्यापारीहरूलाई धम्क्याउन भारतीय र यूएईको दुबईका नम्बर प्रयोग गर्थे । तिनै फोनका आधारमा उनैले धम्की दिएको पत्ता लगाएर प्रहरीले पक्राउ गरेको हो ।