|  

बाढीले मलेसियामा ८० हजारभन्दा बढी मानिसहरू विस्थापित

१४ मंसिर, काठमाडौं । भारी वर्षापछि आएको बाढीले मलेसियामा ८० हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।

राष्ट्रिय विपद् कमान्ड सेन्टरका अनुसार यस हप्ता ८० हजार ५ सय ८९ बासिन्दालाई सात वटा राज्यका ४ सय ६७ वटा अस्थायी आश्रयमा सारिएको छ । बाढीका कारण उत्तरपूर्वी केलान्टान राज्य र तेरेङ्गानु सबैभन्दा बढी प्रभावित भएका छन । प्रभावित राज्यहरूमा केलान्टानमा उद्धार कार्यमा सहयोग गर्न खोजी र उद्धार टोली परिचालन गरिएको विपद् केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ । लामो समयसम्म परेको भारी वर्षा शनिबारसम्म देशव्यापी हुने पूर्वानुमान गरिएको मौसम विभागका प्रवक्ताले बताएका छन् ।

बाढी प्रभावित राज्यहरूमा उद्धारका लागि डुङ्गा, चार पाङ्ग्रे सवारी साधन , हेलिकप्टरसहित हजारौँ आपतकालीन सेवाका कर्मचारीहरू तैनाथ गरिएको जनाइएको छ । बाढीका कारण विभिन्न राज्यहरूमा कम्तीमा चार जनाको मृत्यु भएको छ ।