१४ मंसिर, काठमाडौं । अछाममा नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असई) ले आफैंलाई गोली हानेका छन् ।
तुर्माखाँद गाउँपालिका–३ स्थित भैरवस्थान प्रहरी चौकीका इन्चार्ज ४५ वर्षीय असई किसनबहादुर चन्दले बिहीबार राति पेस्तोलबाट आफैंलाई गोली हानेका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र केसीका अनुसार चन्द आफैंले बोकेको पेस्तोलबाट बाँया छातीको माथिल्लो भागमा प्रहार गरेको खुलेको छ।
बिहीबार राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैंलाई गोली हानेपछि गम्भीर घाइते चन्दको अहिले बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय अछामले पनि इलाका प्रहरी कार्यालय कमलबजारका प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको छ ।