१४ मंसिर, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी-तिनाउ डाइभर्सन योजना अगाडि बढाउने जानकारी दिएका छन् ।
भैरहवामा रहेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिसर्च सेन्टर श्री रण अम्बिका आँखा अस्पतालको ४२ औँ अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन् । उनले लुम्बिनी प्रदेशको विकासका लागि महत्त्वपूर्ण रहेको कालीगण्डकी-तिनाउ डाइभर्सन अगाडि बढाउन अदालतले बाटो खोलिदिएकाले अब छिट्टै काम अघि बढ्ने जिकिर गरे ।
सोही क्रममा उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालनका विषयमा नकारात्मक कुरा नफैलाउन पनि आग्रह गरे । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीका लागि मात्र नभई नेपालकै लागि महत्त्वपूर्ण रहेको बताउँदै यसको सञ्चालन कुनै पनि हालतमा नरोकिने जिकिर गरे ।