|  

यू-१९ एसिया कप : श्रीलंकासँग नेपाल ५५ रनले पराजित

१४ मंसिर, काठमाडौं । यूएईमा आजदेखि सुरु भएको यू–१९ एसिया कप एकदिवसीय प्रतियोगिताको पहिलो खेलमा श्रीलंकासँग नेपाल ५५ रनले पराजित भएको छ ।

शुक्रबार भएको आफ्नो पहिलो खेलमा श्रीलंकाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७८ रनमा अलआउट भयो ।

नेपालका लागि मयन यादवले अर्धशतकीय पारी खेले । उनले ९१ बलमा तीन चौका र दुई छक्कासहित ६२ रनको पारी खेलेका हुन् । यस्तै, आकाश त्रिपाठीले १९, उत्तम थापा मगरले १७, नरेन साउदले १६, नरेन भट्ट र अर्जुन कुमालले १२/१२ तथा सन्तोष यादवले १० रन जोडे । 

श्रीलंकाका लागि प्रवीण मनिषाले ९ ओभरमा ३० रन दिएर सर्वाधिक तीन विकेट लिए । त्यसअघि यूएईको शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनायो ।