|  

निःशुल्क भिडियो एक्सरे सेवा दिँदै काठमाडौं महानगर

१५ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाले निःशुल्क भिडियो एक्सरे सेवा दिने भएको छ ।

महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत नागरिकलाई सो सेवा सुरु गर्न लागेको हो । स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार सुरुमा वडा नं १२, २६ र ३० बाट सेवा दिइनेछ । आइतबार र सोमबार वडा नंं १२, १९ र १४ का सेवाग्राहीलाई वडा नं १२ मा, मङ्गलबार र बुधबार वडा नं १६, २६ र २७ का सेवाग्राहीलाई वडा नं २७ मा र बिहीबार र शुक्रबार वडा नं १० र ३० का सेवाग्राहीका लागि वडा नं ३० स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत सेवा दिइने छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्सरे मेसिन राखिसकेको छ । सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने उनले जानकारी दिए । कामपाले वडा नं ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं १४ बल्खु, वडा नं १९ कङ्केश्वरी, वडा नंं २६ लैनचौर र वडा नं ३० ज्ञानेश्वर, वडा नं १६ बालाजु, वडा नं २७ महाबौद्ध, वडा नं १२ टेकु र वडा नं ७ चाबहिलको स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई पहिलो सम्पर्क विन्दुका रुपमा तोकेको छ ।