१५ मंसिर, काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले यही मंसिर २० गते लुम्बिनी प्रदेशमा भेला बोलाएको छ ।
आज बुटवलमा बसेको दुई दलको लुम्बिनी प्रदेश संयन्त्रको बैठकले भेला बोलाउने निर्णय गरेको हो । भेलामा कांग्रेसबाट जिल्ला सभापति र सचिव, एमालेबाट जिल्ला इन्चार्ज र अध्यक्ष सहभागी हुनेछन । आज बसेको संयन्त्रको बैठकमा प्रदेश सरकारले गरेका कामका विषयमा मुख्यमन्त्री चेतनारायण आचार्यले ब्रिफिङ गरेका थिए । एमाले-कांग्रेस संयुक्त सरकारले अघि सारेका काम सही दिशामा अघि बढेको, सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणको पाँच वर्षे रणनीतिक योजना निर्माण गरेर कार्यान्वयनमा लगिएको मुख्यमन्त्री आचार्यले जानकारी गराए । बैठकमा संसदीय क्षेत्रमा भएका कामहरूको बारेमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रकाश पारे । बैठकमा कांग्रेस प्रदेश सभापति अमरसिंह पुन र एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सरकारको कामलाई थप गतिशील बनाउन सुझाव दिए ।
प्रदेश संयन्त्रको बैठकले लुम्बिनी प्रदेशका १२ जिल्लामा संयन्त्रको बैठक मंसिर मसान्तसम्म सम्पन्न गर्ने र संयुक्त सरकारलाई थप गतिशील बनाउन सुझाव संकलन गर्ने निर्णय गरेको छ ।