१५ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बद्ध सबै पक्षको सहमतिमा कार्यान्वयन हुने बताएकी छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग यस्तो बताएकी हुन् । उनले भनेकी छन्,‘बीआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ । हाल यसको कार्यान्वयन योजनाबारे छलफल जारी छ। यो नेपाल र चीनबीचको सहमति र समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिका आधारमा कार्यान्वयन हुनेछ ।’
मन्त्री डा राणाले अहिले नेपाल ऋण लिने अवस्थामा नरहेकाले चीन सरकारसँग यसै विषयमा छलफल भएको बताइन । नेपाल र चीनबीच सदियौँदेखि घनिष्ठ सम्बन्ध रहेको र यो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाई जनस्तरमा विस्तार गर्न दुई देशबीच समय-समयमा हुने उच्चस्तरीय भ्रमणको आदानप्रदानले महत्त्वपूर्ण योगदान भएको र आफ्नो यो भ्रमण पनि त्यसैको निरन्तरता भएको उनको भनाइ छ ।