१८ मंसिर, काठमाडौं । चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालले प्रस्तुत गरेको ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड को अपरेसन’ सम्झौतामा हस्ताक्षर हुने सम्भावना कम देखिएको छ ।
नेपाली कांग्रेस र एमालेका नेताहरु सम्मिलित कार्यदलले तयार पारेको मस्यौदामा चिनियाँ पक्षले संशोधन गरेर पठाएपछि दुई देशका प्रधानमन्त्रीहरुबीच भएको दुईपक्षीय वार्ताका क्रममा सो सम्झौतामा हस्ताक्षर नभएको हो । भ्रमण दलमा सहभागी एक अधिकारीका अनुसार अब प्रधानमन्त्रीको भ्रमणको क्रममा त्यो सम्झौतामा हस्ताक्षर हुने सम्भावना एकदमै कम छ । चीनले आज बिहान मात्रै नेपालले प्रस्ताव गरेको मस्यौदामा केही परिमार्जन गरेर पठाएको थियो ।
खासगरी सरकारले निर्माण गर्ने बीआरआई अन्तर्गतका परियोजनाहरु ‘अनुदानमा आधारित लगानी’ मा गर्ने प्रस्ताव नेपालले गरेकोमा चीनले अनुदान शब्द हटाएर पठाएको भनिएको छ । त्यसका साथै, नेपालले सम्झौतामा प्रस्ताव गरेका परियोनजामध्ये दुईवटा परियोजनाको नामसमेत चिनियाँ पक्षले हटाएर पठाइदिएका थिए । परियोजनाको नाम हटाएको विषयलाई नेपालले सहजै स्वीकार गरे पनि अनुदान शब्द हटाएको विषयमा भने सहमति हुन नसकेको बताइएको छ ।
यसअघि नेपालले सम्झौताको मस्यौदा बनाउने क्रममा अनुदान शब्द राख्नेबारे चीनसँग पनि पर्याप्त छलफल भएको र त्यसमा उनीहरुले सकारात्मक सन्देश दिएको थियो । त्यही आधारमा परराष्ट्र मन्त्रालयले सम्झौताको मस्यौदा चीन सरकारलाई पठाएको थियो । तर, सम्झौता हुने दिन बिहान चीनले ‘अनुदान’ शब्द नै हटाएर पठाएपछि नेपाली प्रतिनिधिमण्डल अन्यौलमा परेका थिए । तर, अझै पनि सम्झौताको मस्यौदा आदान प्रदान भइरहेकाले आजै वा भोलिसम्म छुट्टै कार्यक्रम आयोजना गरी सम्झौता हुने झिनो सम्भावना पनि बाँकी रहेको भनिएको छ । सम्झौताको विषयवस्तुमा दुई मुलुकबीच सहमति हुन नसक्दा त्यसबाहेकका ९ वटा सम्झौतामा आज बिहान दुई प्रधानमन्त्रीबीच भएको दुईवक्षीय वार्ताका क्रममा हस्ताक्षर भएको छ ।