१९ मंसिर, काठमाडौं । दक्षिण कोरियामा ‘मार्सल ल’उल्टिएपछि राष्ट्रपति यून सुक योलको पद संकटमा परेको छ ।
मंगलबार उनले घोषणा गरेको सैनिक कानुन दुई घण्टामै उल्टिएपछि योलको राष्ट्रपति पद धरापमा परेको हो । पूर्वनिर्धारित नभएको टेलिभिजन सम्बोधनमार्फत योलले विपक्षी पार्टीलाई विद्रोहको योजना बनाएको र स्वतन्त्र लोकतन्त्र ढाल्ने प्रयास गरेको आरोप लगाउँदै आपतकालीन सैनिक कानुन घोषणा गरेका थिए ।
राष्ट्रपतिको घोषणालगत्तै मंगलबार राति नै नागरिकहरू संसद भवन परिसरमा पुगेर आन्दोलन गरेका थिए । यद्यपि संसदको बहुमतले आफ्नो घोषणालाई उल्ट्याइदिएपछि अब उनले राजीनामा दिनुपर्ने नैतिक दबाब पनि रहन्छ ।
यद्यपि बुधबार बिहानैदेखि राष्ट्रपतिको राजीनामा माग गर्दै सियोल लगायतका ठाउँहरूमा ठूलो प्रदर्शन सुरू भएको छ।