१९ मंसिर, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।
बैठक समितिको सचिवालय सिंहदरवारमा दिउँसो १ बजे बस्नेछ । आज समितिले विद्यालय शिक्षा विधेयकबारे छलफल अघि बढाइने जनाएको छ । जसकारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई आमन्त्रण गरिएको छ । समिति सचिवालयका अनुसार विधेयकमाथि संशोधन प्रस्ताव राख्ने संशोधनकर्ता सांसदहरूसँग एकसरो छलफल सकिएको छ । अब दफावार छलफल अगाडि बढाउने तयारी छ । यसका लागि बुधबार बैठकमा राखिएको हो ।
विद्यालय शिक्षा विधेयक २५ असोज २०८० देखि संसदमा विचाराधीन छ । सांसदहरूले १५२ समूहमा १ हजार ७ सय ५८ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए । संशोधनकर्ता सांसदहरुको प्रस्ताव समेतका आधारमा अब विधेयकमाथि दफावार छलफल सुरु गर्ने शिक्षा समितिको तयारी छ । मंगलबार मात्रै पनि सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयकमाथि छलफल अगाडि बढाउन समिति सभापति अम्मबरबहादुर थापालाई भनेका थिए । राजनीतिक सहमति आवश्यक भए त्यसका लागि समेत पहल गर्न र राजनीतिक रुपमा सहमति गर्नुपर्ने विषय पहिचान गरेर आफूलाई समेत दिन सभामुख घिमिरेको आग्रह छ ।