१९ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि जनकुरधाम क्षेत्रमा मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।
सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाम नगरक्षेत्रमा आजदेखि तीन दिनसम्म यी बस्तु बिक्री वितरणमा रोक लगाइएको हो । कार्यालयद्वारा जारी सूचनामा आजराति १२ बजेदेखि मङ्सिर २२ गते राति १२ बजेसम्म जनकपुर नगरक्षेत्रमा मासु, माछा तथा मदिरा बिक्री वितरण नगर्नरनगराउन आदेश जारी गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र तथा परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, पशुपक्षी काटमार, माछा बिक्रीवितरण तथा उत्पादनलगायत अन्य नशालु पदार्थको सेवन नगर्न र नगराउन अनुरोध गर्दै ती वस्तु पूर्ण रूपमा निषेध गरिएको सूचनामार्फत जनाइएको छ । जनकपुर नगरदर्शनबाट सुरु हुने विवाहपञ्चमी महोत्सव रामकलेवा गरेसँगै मङ्सिर २२ गते सम्पन्न हुनेछ ।