१९ मंसिर, काठमाडौं । काठमाडौंको टुँडिखेलमा मकवानपुरका बद्रिप्रसाद सिलवाल मृत अवस्थामा भेटिएका छन् ।
काठमाडौं महानगरपालिका-२२ स्थित टुँडिखेलमा रहेको गोल पोष्ट नजिकै आज उनी मृत भेटिएका हुन । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार बिहान ६ः३५ बजे एकजना पुरुष मृत फेला परेको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाका आधारमा प्रहरीले सिलवाल मृत अवस्थामा फेला पारेको हो । प्रहरीका अनुसार सिलवालको शव नजिकै चक्कु समेत फेला परेको छ । बाँया हातको मुनि रगतको आहाल बनेको थियो । उनको साथमा रहेको कागजात खोजतलास गर्ने क्रममा नागरिकता समेत भेटिएको छ । नागरिकता अनुसार मकवानपुर घर भएका ४५ वर्षीय बद्रिप्रसाद सिलवाल रहेको पुष्टि भएको हो । उनको शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगंजमा पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।