१९ मंसिर, काठमाडौं । उपकुलपति डा.मंगल रावलको सहप्राध्यापक पदको नियुक्तिउपर आवश्यक छानबिन गर्न माग उठेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आन्दोलनरत शिक्षक र कर्मचारीहरूले यस्तो माग गरेका हुन् । आन्दोलरत शिक्षक र कर्मचारीहरूसँग वार्ता गर्न गठित वार्ता समितिसँगको बैठकमा शिक्षक तथा कर्मचारीहरूले उपकुलपतिको सह-प्राध्यापकको नियुक्तिमा प्रतिष्ठानको नियमावली किर्ते भएको समेत आरोप लगाएका थिए । उनीहरूले नियमावलीमा उल्लेख गरिएको प्राविधिक प्राज्ञिक शिक्षकतर्फ बढुवाको न्यूनतम योग्यतामा सह-प्राध्यापक पदका लागि सहायक प्रध्यापक पदमा कम्तीमा ४ वर्ष काम गरेको हुनुपर्ने वाक्य हटाइएको बताएका थिए । त्यो वाक्यमा लेक्चररपश्चात पाँच वर्षको कार्य अनुभव भइ सहायक प्राध्यापक पदमा कम्तीमा दुई वर्ष काम गरेर भन्ने वाक्य राखिएको छ । नियमावलीका सबै बुँदा हुबहु हुनु तर सह-प्राध्यापक हुनका लागि चाहिने योग्यताको पहिलो बुँदा हटाउनु किर्ते भएको उनीहरूको आरोप छ ।
उपकुलपति डा. रावलको सह-प्राध्यापक पदको नियुक्ति अवैध भएकाले उचित छानबिन गरेर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्न उनीहरूले माग गरेका थिए । प्रतिष्ठानले आन्दोलनरत शिक्षक कर्मचारीसँग वार्ता गर्न शिक्षाध्यक्ष डा. डबलबहादुर धामीको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । जसमा प्रतिष्ठानका डीन डा. प्रेणित पोखरेल र सहायक प्राध्यापक विवेक पुनमगर सदस्य छन् । यता आन्दोलनरत शिक्षक र कर्मचारीका तर्फबाट लेखा अधिकृत इन्द्रराज डाँगीले नेतृत्व गरेका छन् ।