१९ मंसिर, काठमाडौं । सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आगामी पुस १० गतेभित्र विद्युत उत्पादन गरिने भएको छ ।
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका-१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा ठूलो क्षति पुर्याएको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा ठूलो क्षति पुगेको थियो । दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको मर्मतसम्भार आगामी पुस १० गतेभित्र सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने तालिका तय गरिएको हो । यसका लागि आंशिक रुपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिने छ ।
यसैगरी, कल्भर्ट भित्ता र सिलिङमा देखिएका चिराहरुको ग्राउटिङ गर्ने काम समानान्तर रुपमा अगाडि बढाइनेछ । दायाँतर्फको अर्को डिस्याण्डर मर्मत र हाल सतहमा रहेको कन्ट्रोल रुमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइने छ । यो काम आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य तय गरिएको छ । वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मतसम्भार सकिएको छ ।
यसैवीच, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशीबाट तोकिएको समयमा विद्युत उत्पादन गर्न नसकिएमा देशभित्रको मागबमोजिम विद्युत आपूर्ति गर्न नसकी अप्ठ्यारो अवस्था आउने भएकाले मर्मत सम्भारमा सबै गम्भीर र संवेदनशील भएर लाग्न आग्रह गरेका छन् । आगामी मार्चसम्म दिउँसो र राति मात्र भारतबाट विद्युत आयात अनुमति पाएकाले आन्तरिक उत्पादनले हिउँदयामको साँझ र बिहान (पिक समय) को विद्युत माग धान्न गाह्रो हुने उनको भनाई छ ।