१९ मंसिर, काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले आज पदभार ग्रहण गरेका छन् ।
पालिकाको प्राङ्गणमा आज पदभार ग्रहण गर्दै उनले पालिकाका सम्पूर्ण नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन । उनको निर्णयमा भनिएको छ,‘ग्रामथान गाउँपालिका वा विराटनगरका कुनै पनि स्वास्थ्य संस्थासँग जाने प्रयोजनका लागि तथा ग्रामथान गाउँपालिका भित्रका जुनसुकै स्थानमा दुर्घटना वा अन्य कुनै कारणबाट आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्ने अन्य व्यक्तिहरूलाई समेत आजकै मितिबाट एम्बुलेन्स सेवा पूर्ण रूपमा उपलब्ध गराउने निर्णय गर्दछु ।’
साथै अध्यक्ष माझीले जनताको इच्छा र आकाङ्क्षा अनुरुप आफू अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । उनले जनताले कुनै गुनासो लिएर पालिकामा धर्ना दिन वा आन्दोलन गर्नुपर्ने वातावरण नबनाउन आफूले जनतासँगै काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् । माझीलाई आजै मोरङका जिल्ला न्यायाधीश उद्धव भट्टराईले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।