१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गरेका छन् ।
चीनको औपचारिक भ्रमणमा रहेका उनले बेइजिङमा आज आयोजित ‘नेपाल-चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् । नेपालमा लगानी वातावरण बन्दै गएको र धेरै क्षेत्रमा अझै पनि पर्याप्त लगानी भइनसकेकाले लगानीका लागि उनले आग्रह गरे । द्विपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउँदै उनले दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताए ।
प्रधानमन्त्री ओलीले निजीक्षेत्रको सहकार्यलाई सरकारले प्राथमिकता दिएको र सोहीअनुसार व्यावसायिक वातावरण बनाउँदै लगिएको बताए । उनले निजीक्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधैँ तत्पर रहेको बताए । चीन नेपालमा धेरै लगानी गर्ने मुलुकमध्ये एक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापारघाटा चिन्ताको विषय रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । नेपालका कृषिजन्य उत्पादनको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने उनले बताए । सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिङ जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए ।
साथै, नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने प्रतिबद्धता व्यक्त गरे । चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको बताउँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारवहन सहजीकरण गरिने उल्लेख गरे । चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने उनको भनाइ छ ।