२० मंसिर, काठमाडौं । कञ्चनपुरको लालझाडी गाउँपालिका-१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको हत्या रक्सी नदिएको निहुँमा भएको खुलेको छ ।
कात्तिक ९ गते बिहान आफ्नै घरमा दुवैको शव भेटिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान थालेपछि आक्रमण गर्ने व्यक्ति र कारण भने पत्ता लगाउन सकेको थिएन । घटनको करिब डेढ महिनापछि रक्सीका कारण दुवै जनाको हत्या भएको प्रहरीले ठहर गरेको छ । घटनामा संलग्नलाई पक्राउ गरेको र उनले आफूले हत्या गरेको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले लालझाडी गाउँपालिका-२ बस्ने ५२ वर्षीय गङ्गाराम रानालाई पक्राउ गरेको छ । प्रारम्भिक बयानका क्रममा रानाले बडायक दम्पतीको हत्या गरेको स्वीकार गरेका छन् ।
प्रहरीसमक्ष उनले आफूले रक्सी माग्दा नदिएर उल्टै हातपात गरेपछि आक्रमण गरेको बताएका छन् । उनले बयानमा भनेका छन्,‘एक क्वाटर दिनुहोस भनेर बडायकको पसलमा पुगेको थिए । छैन भनेर तथानाम गर्दै ममाथि हातपात गरे । तँलाई देखाउँछु भनेर हान्ने चिज खोज्दै थिए । त्यही बेला नजिकै काठको डन्डा पाएपछि बडायकलाई हिर्काएर बेहोस बनाएँ ।’
बडायकको हत्यापछि घरको बरन्डामा झुलभित्र सुतिरहेकी उनकी श्रीमतीको पनि हत्या गरेको रानाले बताएका छन । सुरुमा श्रीमानलाई आक्रमण गरेपछि श्रीमती कराएको र त्यहीबेला श्रीमतीलाई पनि हत्या गरेको प्रहरीले जनाएको छ । अहिलेसम्म पनि उनले आफूले आक्रमण गरेको हतियार भने प्रहरीलाई देखाउन सकेका छैनन ।