२१ मंसिर, काठमाडौं । विशेष अदालतले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ ।
बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र न्यायाधीश रितेन्द्र थापाको इजलासले चार नेपालीलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुनेमा नेपाल वायु सेवा निगमका अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार र सहसचिवहरू बुद्धिसागर लामिछाने र शिशिर ढुंगाना रहेका छन् ।
विशेष अदालतले विमान खरिमा एक अर्ब ४७ करोड १० लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ ।यस्तै, विशेष अदालतले विमान निर्यातकर्ता कम्पनीका तर्फबाट संलग्न नेपाली मूलका बेलायती नागरिकसहित ६ जनालाई पनि दोषी ठहर गरेको छ ।विशेष अदालतले महाप्रबन्धक कंसाकारलाई २ वर्ष ६ महिना, अध्यक्ष अधिकारीलाई १ वर्ष ९ महिना र सदस्यहरु ढुंगाना र लामिछानेलाई समान १ वर्ष ६ महिना कैद सजाय तोकेको छ ।
तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही लगायतका आरोपीलाई भने अदालतले सफाइ दिएको छ ।वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ चैत ०८० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।