|  

बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

२३ मंसिर,काठमाडौं । बाजुरा सदरमुकाम मार्तडीमा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ३१ वर्षीया गायत्री पन्तको मृत्यु भएको हो। उनको घर कञ्चनपुर हो।

यस्तै, भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्टको पनि मृत्यु भएको छ। पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा परेर तीन जना घाइते भएका छन्। घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त, र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेका छन्।

घाइते तीनै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। आइततबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको जिप बडीमालिका नगरपालिका–८ मा दुर्घटनामा परेको हो।