२३ मंसिर, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री र अर्थमन्त्रीबीच मनमुटाव भएको भन्ने गलत प्रचार गरिएको प्रष्ट पारेका छन् ।
आज कला परिषद्मा आयोजित फोटो प्रदर्शनी अवलोकन पश्चात सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा अर्थमन्त्री पौडेलले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर आएका समाचारहरुमा कुनै सत्यता नभएको बताएका हुन । उनले गलत प्रचार गर्नेहरुले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर मनको लड्डू घ्युसँग खानुबाहेक अरु केही नभएको भन्दै गलत समाचारले कसैलाई पनि फाइदा नगर्ने उल्लेख गरे ।
उनले प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको उल्लेख गरे। उनले केपी शर्मा ओली प्रधानमन्त्री भएर सन २०१६, २०१८ र २०२४ मा गरेको चीन भ्रमण सफल र उपलब्धिपूर्ण भएको जिकिर गरे । उनले भ्रमणबाट नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै त्यसले नेपालको दीर्घकालीन विकास सहयोग पुग्ने बताए ।