|  

संसद्लाई प्रभावकारी र थप जिम्मेवार बनाउन आवश्यकः सभामुख घिमिरे

२३ मंसिर, काठमाडौं । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्लाई प्रभावकारी र थप जिम्मेवार बनाउन सबैपक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

सङ्घीय संसद् सेवा दिवसका अवसरमा संसद् सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको ‘सङ्घीय संसद्को प्रभावकारितामा संसद् सेवाको भूमिका’ विषयक अन्तरक्रियामा सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी रहेको भन्दै आपसी सहकार्य र समन्वयबाट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए । उनले समयसापेक्ष संसदीय सेवालाई प्रभावकारी पार्ने र संसद्को महत्वलाई बढाउन नयाँ ढङ्गले कानुनी व्यवस्था गरेर जानुपर्ने बताए । सङ्घीय संसद्लाई कसरी प्रभावकारी बनाउन सकिन्छ, यसबारे मार्गनिर्देश गर्न सकेका अवस्थामा दिवसको सान्दर्भिकता अझ बढ्ने उनको भनाइ छ ।

सभामुख घिमिरेले संसद् सचिवालयले दिने सेवासुविधाका आधारमा संसद्लाई प्रभावकारी बनाउन सकिने भन्दै यसमा सरोकार भएका सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।