२३ मंसिर, काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानको क्रममा उठाइएका विषय भ्रामक र तथ्यहीन भएको भन्दै खण्डन गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले एक विज्ञप्ति जारी लामिछानेमाथि प्रहरीले अमानवीय व्यवहार नगरेको भन्दै सामाजिक सञ्जालमा सम्प्रेषण भएका समाचारहरूको खण्डन गरेका हुन । उनले प्रहरीका कर्मचारीले राती सुतेको बेलामा हिरासत कक्षबाट लामिछानेलाई उठाएको, दुव्र्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको, प्रहरीका कर्मचारीले मादक पदार्थ सेवन गरेको भन्ने जस्ता समाचारहरू कपोकल्पित र झुटा रहेको बताए ।
प्रहरीद्वारा जारी विज्ञप्तिमा यस्तो भनिएको छः
विगत केही दिन यता विभिन्न सामाजिक संजालमा अनुसन्धानको क्रममा रहेका पूर्व उपप्रधान तथा गृह मन्त्री माननीय रवी लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण मुद्दामा यस कार्यालयमा ल्याईएकोमा बयान कार्य सकिए पश्चात मिति २०८१।०८।२० गते जिल्ला प्रहरी कार्यालय कास्की, पोखरामा उपस्थित गराउने क्रममा नेपाल प्रहरीका कर्मचारीले राती सुतेको बेलामा हिरासत कक्षबाट उठाएको, दुर्ब्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको, प्रहरीका कर्मचारीले मादक पदार्थ सेवन गरेको भन्ने जस्ता भ्रामक, झुट्ठा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरु Tiktok, Facebook लगायतका सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, चितवनको गम्भिर ध्यानाकर्षण भएको छ ।
मिति २०८१।०८।१९ गते जिल्ला सरकारी वकिल कार्यालयमा बयान कार्य भईरहेको अवस्थामा अनुसन्धान कार्य बिथोल्ने मनसायबाट भीडले प्रहरी माथी ढुंगा मुढा प्रहार गर्ने, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला सरकारी वकिल कार्यालयमा भीड प्रवेश गर्न खोज्ने लगायतको कार्य समेत भएको, मौसम हवाई उडानका लागि प्रतिकूल रहेकोले हवाई उडानबाट लैजान सक्ने अवस्था नरहेको, तत्काल प्राप्त सूचनाको विश्लेषण गर्दा भीडबाट निजको सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएको र मुद्दा अनुसन्धानका लागि सीमित हद म्याद रहेको बिषय समेतलाई मध्यनजर गरी मिति २०८१र०८र१९ गते २१ः३० बजेको समयमा जिल्ला सरकारी वकील कार्यालय, चितवनमा बयान कार्य समेत सकिए पश्चात् जिल्ला प्रहरी कार्यालय, चितवनको हिरासत कक्षमा पनि नलगी आफन्त भेटघाट कक्षमा पूर्व उपप्रधान तथा गृह मन्त्री माननीय रवी लामिछानेले आफन्त तथा शुभचिन्तकहरुसंग भेटघाट वार्तालाप गरी सके पश्चात् भेटघाट कक्षबाटै मिति २०८१।०८।२० गते बिहान ००ः०५ बजेको समयमा नेपालको प्रचलित कानुन बमोजिम नै सुरक्षा सतर्कता अपनाई जिम्मेवार प्रहरी अधिकृत प्रहरी नायव उपरीक्षकको कमाण्डमा चितवनबाट सुरक्षित रुपमा लगि जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थित गराईएकोले माथि उल्लेखित तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरुबाट जनमानसमा गलत सूचना सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउनहुन सम्पूर्णमा अनुरोध गरिएको छ । नेपालको संबिधान एवं प्रचलित ऐन कानुन बमोजिम फौजदारी न्याय प्रणालिका मूल्य मान्यताको अनुशरण र मानव अधिकारको उच्च सम्मान गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, चितवन सदैव प्रतिबद्ध रहेको अनुरोध गर्दछ । त्यसैले कोही कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुराहरुलाई सम्प्रेषण नगरी, सही सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देश मात्र सम्प्रेषित गरी दिन हुन सम्पूर्णमा जिल्ला प्रहरी कार्यालय, चितवन हार्दिक अनुरोध गर्दछ ।
मितिः२०८१/०८/२३ गते
सूचना अधिकारी (भेषराज रिजाल) प्रहरी नायव उपरीक्षक
जिल्ला प्रहरी कार्यालय चितवन