२३ मंसिर, काठमाडौं । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
आजै काठमाडौं आएका लुले अध्यक्ष ‘प्रचण्ड’ निवास खुलमटार पुगेर भेट गरेका हुन् ।
भेटमा अध्यक्ष ‘प्रचण्ड’ले अमेरिकी सहायक विदेश मन्त्री लुको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । त्यस्तै, नेपाल र अमेरिकाबीच लामो समयदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास प्रचण्डले व्यक्त गरेका छन् ।
नेपालको आर्थिक विकासका लागि अमेरिकाले गरिरहेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै उनले सबैको सहयोग र सद्भावबाट अघि बढ्ने बताए ।
नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढ्न खोजिरहेको उल्लेख गर्दै अध्यक्ष ‘प्रचण्ड’ले यसमा अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव महत्त्वपूर्ण हुने बताए ।
‘हामीले कृषिलाई आधार मानेर ऊर्जा र पर्यटन विकासलाई जोड दिने नीति लिएका छौँ’, उनले भने, ‘सबै क्षेत्रमा सूचना प्रविधिलाई लिडिङ रोलमा राखेर मात्रै नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ । यसका लागि अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोग र लगानी महत्त्वपूर्ण हुन्छ ।’
नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ मौलिक रूपमा सम्पन्न हुन थालेको जानकारी गराउँदै अध्यक्ष प्रचण्डले यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भावका लागि धन्यवाद समेत दिए ।