३० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार गरिरहेको छ ।
सोमबार उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिने नेपाल प्रहरीका एकजना उच्च अधिकृतले बताए ।
उनीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी तथा किर्ते र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउँदै छ । उनीविरुद्ध सम्बद्ध कसुरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर हुनेछ ।
संसदीय विशेष छानबिन समितिले सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको निष्कर्ष निकालेको छ । अपचलनमा संलग्न आरोपमा लामिछाने, पूर्व डीआईजी छविलाल जोशी, लिला पछाइ, रामबहादुर खनाल र कृष्ण गुरुङ पक्राउ परेका हुन् ।