४ पुस, काठमाडौं । बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका सह-कोषाध्यक्ष दीपक बोहराले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेकोछ ।
उक्त तस्बिर हाल कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेको रहेको बोहराको दाबी थियो । फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमामा विभिन्न कोणमा बहस सुरु भयो । केहीले तस्बिरको वास्तविकतामाथि नै प्रश्न पनि उठाए ।सीसीटिभीको उक्त तस्बिर प्रहरीले नै कसैलाई पठाएको बोहराको दाबी थियो ।
तर, अहिले उक्त तस्बिर रास्वपाका समर्थक डा.निकोलस भुसालले खिचेको बताएका छन् । यसमा कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी मागेका छन् । भुसालले त्यो फोटो प्रहरीले सार्वजनिक नगरेको बताएका छन् । ‘यो पुलिसले ल्याएको होइन, म दोषी छु यसमा । मैले यो फोटो बाहिर ल्याएको हुँ,’ भुसालले एक भिडियोमा भनेका छन्, ‘यसवाफत नेपाल नेपाल प्रहरी र नेपाल सरकारसँग माफी माग्न चाहन्छु ।’
भुसालले आफू रविको स्वास्थ्य जाँचका लागि हिरासतमा गएको र त्यही बेला प्रहरीकै सामुन्ने फोटो खिचेको बताएका छन् । रविको स्वास्थ्य ठिक छ भन्ने देखाउनका लागि पनि फोटो खिचेको उनको भनाइ छ । भुसालले दुई दिन अघि नै यो फोटो फेसबुकमा राखेर पछि डिलिट गरेका थिए । उक्त तस्बिर बुधबार बोहराले फेसबुकमा राखेपछि अहिले भाइरल भइरहेको छ ।