०६ पुष, काठमाडौं । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टीतेल पनि ल्याउने भएको छ ।
निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको हो । पेट्रोल, डिजेल र मट्टीतेल आयात गर्न सकिने गरी निर्मित ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टीतेल ल्याउने तयारी अन्तिम चरणमा पुगेको निगमको मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए । निगमले परियोजनाको दोस्रो चरणअन्तर्गत पाइपलाइनबाट पेट्रोल र मट्टीतेल ल्याउने कामको सफल परीक्षण गरिसकेको छ ।
निगमले पाइलपाइनबाट गएको असोज १८ गते पाँच हजार ५०० किलोलिटर पेट्रोल र मंसिर २६ गते एक हजार किलोलिटर मट्टीतेल अमलेखगन्ज झारेको थियो । अब निरन्तर पाइपलाइनबाट डिजेलका साथै पेट्रोल र मट्टीतेल ल्याउन सक्ने स्थितिमा निगम पुगेको छ । पेट्रोलियम पदार्थको संवेदनशीलतालाई मध्यनजर गर्दै हाल विस्तृत परीक्षणको काम भइरहेको छ ।
निगमको मधेस प्रादेशिक डिपो अमलेखगन्जबाट विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगन्ज, जनकपुरस्थित डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ । अमलेखगन्जबाट स्थानीयस्तरका पम्पका निम्ति पनि पेट्रोलियम पदार्थ बिक्री-वितरण गरिँदै आएको छ ।