०६ पुष, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफूले युग सुहाउँदो कांग्रेस बनाउने तयारी गरेको जानकारी दिएका छन् ।
नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसको १५ औं महाधिवेशनपछि युग सुहाउँदो काँग्रेस बनाउने बताएका हुन् । अबको कांग्रेस बलियो र गतिशील हुनुपर्नेमा उनको जोड छ । पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनु पर्ने र त्यसका लागि आफू नेतृत्व लिन तयार रहेको उनको भनाइ छ ।
नेपाली कांग्रेसलाई जोगाउन तथा लोकतन्त्रको सुदृढीकरण गर्न पनि महाधिवेशनको आवश्यक रहेको उनले बताए । अहिले कांग्रेसभित्रको एकता, सौहार्दता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गइरहेको भन्दै उनले विस्तारै कांग्रेस कम्युनिस्ट पार्टी जस्तो बन्दै गइरहेकोप्रति आफू चिन्तित रहेको बताए ।