७ पुस, काठमाडौं । संघीय संसद अन्तर्गत आज चारवटा समितिको बैठक बस्दैछ ।
आज कानून, न्याय तथा मानव अधिकार समिति, अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।
जस अन्तर्गत कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफललाई निरन्तरता दिनुका साथै विधेयकमाथि दफावार छलफल गर्ने कार्यक्रम छ ।
यता महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको पहिचान (तेस्रो लिङ्गी, ट्रान्सजेन्डर, पारलिङ्गी) अधिकार र समावेशीकरण सम्बन्धमा छलफल हुनेछ ।
यसैगरी, बिहान ११ बजे पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग दफावार छलफल गर्ने कार्यसूची छ ।